जनकपुर, १ माघ । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने दिन माघ १ गते मकर (माघे) सङ्क्रान्ति पर्व मनाइँदै छ ।
यसै दिनदेखि उत्तरायण सुरु हुने भएकाले दिन लामो र रात छोटा हुँदै जान्छन् । उत्तरायणको पहिलो दिन स्नान, दान, जप, तप र ध्यानलाई पुण्यदायी मानिन्छ ।
यस अवसरमा देवघाट, त्रिशूली, कालीगण्डकी, बागमती, रिडी, त्रिवेणी लगायत तीर्थस्थलमा माघ स्नान गर्ने भक्तजनको भीड लागेको छ ।
तराई क्षेत्रमा यस दिनलाई ‘नहान’ पर्वका रूपमा मनाइन्छ । माघे सङ्क्रान्तिमा घ्यू, चाकु, तिलका परिकार, तरुल, खिचडी आदि खाने परम्परा छ ।
आयुर्वेदअनुसार यी परिकारले जाडोमा शरीरलाई न्यानो राखी स्वास्थ्य लाभ दिने विश्वास छ । यसै अवसरमा राष्ट्रिय कृषि जैविक विविधता दिवस पनि मनाइँदै छ ।














