काठमाडौं, ३० पुस । नेपाल एसबीआई बैंकको सिन्धुलीस्थित घ्याङलेख–२ बस्तीपुर, हायुटार शाखामा भएको लुटपाट घटनामा संलग्न ४ जना पक्राउ परेका छन् ।
उनीहरूलाई घ्याङलेख–१ सुकाचुरीबाट स्थानीयको सहयोगमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । मंगलबार राति ५–६ जनाको समूहले बैंकबाट ३ करोड १० लाख ९५ हजार २८३ रुपैयाँ लुटेको थियो ।
लुटिएको रकममध्ये १ करोड ८० लाख १० हजार ५०० रुपैयाँ प्रहरीले विभिन्न स्थानबाट बरामद गरेको छ । थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।














