सन्धुली, ३० पुस । सिन्धुलीको घ्याङ्लेखमा रहेको नेपाल एसबीआई बैंकबाट नकावधारी समूहले ठूलो रकम लुटपाट गरेको छ ।
काभ्रेको बनेपाबाट गएको ६ जनाको नकावधारी समूहले मंगलबार साँझ करिब ७ बजेको समयमा बैंकमा धावा बोलेर ३ करोड १० लाख ९५ हजार रुपैयाँ लुटेर फरार भएको हो ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार लुटेराहरूले बैंकका सुरक्षागार्डलाई कुटपिट गर्दै नियन्त्रणमा लिएपछि सेफमा राखिएको नगद रकम लुटेका थिए ।
घटना योजनाबद्ध रूपमा भएको देखिएको र लुटपाटपछि समूह फरार भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । घटना लगत्तै व्यापक खोजतलास सुरु गरेको प्रहरीले बैंक नजिकैको जंगल क्षेत्रबाट १ करोड ८० लाख १० हजार ५ सय रुपैयाँ बरामद गर्न सफल भएको छ ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी प्रमुख एसपी लालध्वज सुवेदीले लुटिएको रकमको बाँकी हिस्सा र संलग्न व्यक्तिहरूको खोजी तीव्र पारिएको जानकारी दिएका छन् ।
प्रहरीले लुटेराहरू आएको टाटा सुमो गाडी र त्यसका चालकलाई नियन्त्रणमा लिएको छ । चालक बनेपाका रहेको र लुटेराहरू सबै बनेपाबाटै सवारीमा चढेर सिन्धुली आएको प्रारम्भिक विवरण प्रहरीले सार्वजनिक गरेको छ ।
चालकको संलग्नताबारे पनि थप अनुसन्धान भइरहेको छ । हाल फरार रहेका अन्य लुटेराहरूको खोजीका लागि जिल्लाका विभिन्न नाका तथा सम्भावित मार्गहरूमा निगरानी कडा पारिएको प्रहरीले जनाएको छ ।
बैंक सुरक्षा, आन्तरिक व्यवस्थापन र सम्भावित सहयोगीबारे पनि अनुसन्धान अघि बढाइएको छ ।














