काठमाडौं, २९ पुस । नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदारले पार्टी गम्भीर संकटतर्फ उन्मुख भएको बताएका छन् ।
केन्द्रीय समिति बैठकअघि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले कांग्रेसभित्र देखिएको आन्तरिक विवादका कारण पार्टी विभाजनको खतरा बढ्दै गएको स्वीकार गरे ।
गच्छदारले पार्टी अहिले ‘क्रिटिकल अवस्था’मा पुगेको उल्लेख गर्दै यस्तो अवस्था सबैले प्रत्यक्ष रूपमा देखिरहेको बताए । आफूलाई विभाजनको जोखिम गहिरो रूपमा महसुस भएको भन्दै उनले विगतमा पनि पार्टी विभाजनका घटना भोगेको र देखेको अनुभव सुनाए ।
उनले देश राजनीतिक, आर्थिक तथा सामाजिक संकटमा रहेको वर्तमान अवस्थामा सत्तारुढ तथा जिम्मेवार दल विभाजित हुनु राष्ट्रका लागि घातक हुने चेतावनी दिए ।
यही कारण पार्टीलाई एकताबद्ध राख्न आफू सक्रिय रूपमा प्रयासरत रहेको उनको भनाइ थियो । गच्छदारले आन्तरिक संवाद, सहमति र समझदारीमार्फत समस्या समाधान गर्नुपर्नेमा जोड दिँदै पार्टी नेतृत्वलाई समयमै जिम्मेवार निर्णय लिन आग्रह गरे ।
पार्टीभित्रको विवाद चाँडै समाधान नभए कांग्रेस थप कमजोर हुने जोखिम रहेको उनले औंल्याए ।














