काठमाडौं, २८ पुष । नेपाली कांग्रेसले पार्टीभित्र उम्मेदवार छनोट प्रक्रिया थप लोकतान्त्रिक र पारदर्शी बनाउने उद्देश्यसहित पहिलोपटक प्राइमरी निर्वाचन प्रणाली लागू गर्ने प्रस्ताव अघि सारेको छ ।
काठमाडौंको भृकुटीमण्डपमा जारी पार्टीको दोस्रो विशेष महाधिवेशनमा पेश गरिएको समसामयिक राजनीतिक प्रस्तावमा यो व्यवस्था समेटिएको हो ।
महामन्त्री गगनकुमार थापाले प्रस्तुत गरेको प्रस्तावमा सम्बन्धित तहका पार्टी सदस्यहरूमार्फत आन्तरिक प्रतिस्पर्धा अर्थात् प्राइमरी निर्वाचन गरिने उल्लेख छ । प्रस्तावअनुसार उम्मेदवार छनोट प्रक्रियालाई थप व्यवस्थित, निष्पक्ष र प्रविधिमैत्री बनाउन डिजिटल उम्मेदवार मूल्यांकन तथा सिफारिस प्रणाली प्रयोग गरिनेछ।
यस प्रणालीमार्फत उम्मेदवारहरूको योग्यता, क्षमता, इमानदारी र संगठनगत योगदानका आधारमा मूल्यांकन गर्दै सबै इच्छुकलाई समान अवसर प्रदान गरिने उल्लेख गरिएको छ ।
महामन्त्री थापाले प्राइमरी निर्वाचन प्रणालीले पार्टीभित्रको आन्तरिक लोकतन्त्रलाई मजबुत बनाउने, उम्मेदवार छनोटका क्रममा देखिँदै आएका विवाद र असन्तुष्टि घटाउने तथा पार्टीप्रति आमजनताको विश्वास बढाउने विश्वास व्यक्त गर्नुभएको छ ।














