काठमाडौं, १३ पुस । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले एउटै दलमार्फत प्रतिनिधिसभा निर्वाचनमा जाने सहमति गर्दै ७ बुँदे सम्झौता गरेका छन् ।
सम्झौताअनुसार रवि लामिछाने पार्टीको केन्द्रीय सभापति रहनेछन् भने निर्वाचनपछि बालेन शाह संसदीय दलको नेता तथा भावी प्रधानमन्त्रीको उम्मेदवार बन्नेछन् ।
सम्झौतामा भ्रष्टाचारविरुद्ध जेन–जी आन्दोलनको अपनत्व, सुशासन, सामाजिक न्याय र आगामी १० वर्षभित्र नेपाललाई मध्यम आय भएको मुलुक बनाउने लक्ष्य समेटिएको छ ।
पार्टीको नाम, झण्डा र चुनाव चिन्ह यथावत रहनेछ । बालेन शाहले सम्भवतः मेयर पदबाट राजीनामा दिएर सक्रिय राष्ट्रिय राजनीतिमा प्रवेश गर्ने संकेत देखिएको छ ।
सम्झौता तत्काल कार्यान्वयन गर्दै निर्वाचन आयोगमा पार्टीका विवरण अद्यावधिक गरिनेछ र समानुपातिक उम्मेदवार सूची चाँडै बुझाइनेछ । अन्य वैकल्पिक तथा परिवर्तनकामी शक्तिलाई पनि एकताका लागि आव्हान गरिएको छ ।














