काठमाडौं, ६ पुस । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि निर्वाचन आयोगले प्रस्तावित आचारसंहितामा चुनावी प्रचारप्रसारका क्रममा सवारीसाधनको प्रयोग कडाइका साथ नियमन गर्ने व्यवस्था गरेको छ ।
उम्मेदवारले अनुमति नलिई कुनै पनि सवारीसाधन प्रयोग गर्न पाउने छैनन् । अनुमति पाएमा बढीमा दुईवटा दुई÷तीन÷चारपाङ्ग्रे सवारीसाधन प्रयोग गर्न सकिनेछ भने सवारी नचल्ने स्थानमा चारवटा घोडा प्रयोग गर्न पाइनेछ ।
विदेशी नम्बर प्लेटका सवारी निषेध गरिएको छ । अनुमति प्राप्त सवारीबाट मतदाता ओसारपसार गर्न नपाइनेछ, तर अपाङ्गता भएका, ज्येष्ठ नागरिक, गर्भवती महिला लगायत विशेष अवस्थाका मतदातालाई निर्वाचन अधिकृतको अनुमति भएमा सवारी प्रयोग गर्न दिइनेछ ।
आयोगले स्वीकृत गरेको मुख्य प्रचारकले हेलिकप्टर प्रयोग गर्न सक्ने व्यवस्था पनि प्रस्ताव गरिएको छ ।














