जनकपुर, ५ पुष । मधेश प्रदेश सभाको सभामुख पदका लागि नेकपा एमालेबाट त्रिलोकी प्रसादले उम्मेदवारी दर्ता गराएका छन् ।
प्रदेश सभा सचिवालयमा आज दिउँसो करिब ३ बजे उनले आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् ।
उनको उम्मेदवारीमा प्रदेश सभा सदस्य शारदा देवी थापा प्रस्तावक र जयचन्द्र प्रसाद पटेल समर्थक रहेका छन् ।
सभामुख उम्मेदवारी दर्ताअघि बसेको एमाले संसदीय दलको बैठकले त्रिलोकी प्रसादलाई आधिकारिक उम्मेदवार बनाउने निर्णय गरेको थियो ।
एमालेका नेताहरूले संसदीय प्रक्रिया, विधि र विधानको पालना गर्दै प्रदेश सभालाई प्रभावकारी रूपमा सञ्चालन गर्न सक्ने क्षमता भएकाले प्रसादलाई उम्मेदवार बनाइएको बताएका छन् ।
प्रदेश सभा सचिवालयका अनुसार निर्धारित कार्यतालिका अनुसार उम्मेदवारी दर्तापछि सभामुख चयनका लागि मतदान प्रक्रिया अघि बढाइनेछ ।














