काठमान्डौँ, ४ पुष । कञ्चनपुर जिल्लामा बढ्दो चिसो र शीतलहरका कारण करिब आठ हजार आठ सय ७५ परिवार प्रभावित हुन सक्ने जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले अनुमान गरेको छ ।
शीतलहरबाट उत्पन्न हुन सक्ने जोखिम न्यूनीकरणका लागि जिल्ला प्रशासनले शीतलहर पूर्वतयारी तथा प्रतिकार्य योजना तयार गरी कार्यान्वयनमा ल्याएको जनाएको छ ।
प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालका अनुसार जिल्ला विपद् व्यवस्थापन समितिले तयार पारेको योजनाअनुसार सबै स्थानीय तहमा सम्भावित जोखिमको मूल्याङ्कन गरिएको छ ।
अनुमानअनुसार भीमदत्त नगरपालिकामा एक हजार ३५०, बेदकोट नगरपालिकामा एक हजार २५०, शुक्लाफाँटा नगरपालिकामा एक हजार ५५०, कृष्णपुर नगरपालिकामा नौ सय, बेलडाँडी गाउँपालिकामा आठ सय ८०, पुर्नवास नगरपालिकामा आठ सय ५०, दोधारा–चाँदनी नगरपालिकामा आठ सय ५०, बेलौरी नगरपालिकामा पाँच सय तथा लालझाडी गाउँपालिकामा सात सय ४५ परिवार शीतलहरबाट प्रभावित हुन सक्ने देखिएको छ ।
प्रतिकार्य योजनाअनुसार शीतलहरबाट प्रभावित नागरिकलाई आवश्यक राहत सामग्री उपलब्ध गराइनेछ। विशेषगरी बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, गर्भवती तथा सुत्केरी महिलालाई प्राथमिकतामा राखेर सहयोग गर्ने व्यवस्था गरिएको प्रजिअ ढकालले जानकारी दिए ।
विपद् व्यवस्थापनका क्रममा स्थानीय तह, दातृ निकाय, सहयोगी संस्था तथा नागरिक समाजसँग समन्वय गरी प्रभावकारी रूपमा काम गरिने पनि योजनामा उल्लेख छ ।














