जनकपुर, १ पुस । ई–रिक्सा चालकहरूले जनकपुर उपमहानगरपालिकाको मुख्यद्वार घेराउ गर्दै मंगलबार विरोध प्रदर्शन गरेका छन् ।
उपमहानगरपालिकाले ई–रिक्साको व्यवस्थापनका नाममा कडा निर्णय लागू गरेपछि चालकहरू आन्दोलित भएका हुन् । जनकपुर उपमहानगरपालिकाले परिक्रमा सडक तथा सो भित्रका क्षेत्रमा उपमहानगरमा दर्ता भएका ई–रिक्सा बाहेक अन्य रिक्साहरू सञ्चालन गर्न नपाइने निर्णय गरेको छ ।
सो निर्णयपछि बाहिरी स्थानमा दर्ता भएका वा दर्ता नै नभएका ई–रिक्सा चालकहरू प्रत्यक्ष रूपमा प्रभावित भएका छन् । उपमहानगरपालिकाका अनुसार ई–रिक्साको अव्यवस्थित सञ्चालनका कारण जनकपुरको ट्राफिक व्यवस्थापन अत्यन्त अस्तव्यस्त बन्दै गएको छ ।
सोही समस्यालाई नियन्त्रण गर्न नगरपालिकामा दर्ता भएका सवारी साधनलाई मात्र परिक्रमा सडकभित्र सञ्चालन गर्न दिने नीति लिइएको हो ।
नियम उल्लङ्घन गरी सञ्चालन गरिएका ई–रिक्सामाथि जरिवाना समेत गरिने उपमहानगरले घोषणा गरेको छ । तर ई–रिक्सा चालकहरूले उपमहानगरपालिकाको यो निर्णयले आफूहरूको दैनिकी र रोजगारीमा गम्भीर असर परेको बताएका छन् ।
उनीहरूका अनुसार वैकल्पिक व्यवस्था नगरी अचानक यस्तो निर्णय लागू गर्नु अन्यायपूर्ण हो । त्यसैको विरोधमा चालकहरू सडकमा उत्रिएर नगरपालिकाको मुख्यद्वारमा प्रदर्शन गरेका हुन् ।
प्रदर्शनकारी चालकहरूले उपमहानगरपालिकाले निर्णय फिर्ता नलिएसम्म आन्दोलन जारी राख्ने चेतावनी दिएका छन् । साथै, वार्ता र सहमतिबाट समस्याको समाधान खोजिनुपर्ने उनीहरूको माग रहेको छ ।














