काठमाडौं, १ पुस । सुरक्षा निकायले २१ फागुनमा प्रतिनिधिसभा चुनाव गर्न सकिने निष्कर्षसहित गृह मन्त्रालयलाई सुरक्षा ब्रिफिङ गरेका छन् ।
चुनाव नजिकिँदै जाँदा गृह मन्त्रालयले सुरक्षा रणनीतिमा तीव्रता दिएको छ । केही राजनीतिक दलले भने फरार कैदी, लुटिएका हतियार र हराएका गोलीगट्ठाका कारण उक्त मितिमा चुनाव गर्नु जोखिमपूर्ण हुने दाबी गरेका छन् ।
तर, सुरक्षा निकायका अनुसार लुटिएका अधिकांश हतियार फिर्ता भइसकेका छन् र बाँकी केही फालिएका वा न्यून मात्रामा लुकाइएका हुनसक्ने अनुमान छ । करिब १४ हजार फरार कैदीमध्ये झण्डै १० हजार नियन्त्रणमा आइसकेका छन् भने बाँकी पाँच हजारभन्दा कम फरार छन्, जसबाट चुनावमा ठोस सुरक्षा खतरा नदेखिएको सुरक्षा निकायको निष्कर्ष छ ।
सुरक्षा निकायका अनुसार कैदी वा हतियारभन्दा पनि चुनावमा सहभागी हुने–नहुने दलहरू र जेनजी समूहबीच हुनसक्ने झडप नै प्रमुख सुरक्षा चुनौती हो । यसैबीच, गृहमन्त्री ओमप्रकाश अर्यालले २१ फागुनमै चुनाव हुने स्पष्ट पार्दै तोकिएकै मितिमा चुनाव सम्पन्न गर्नु सरकारको दायित्व भएको बताए ।














