जनकपुर, १ पुस । रोजेको मन्त्रालय अन्य दललाई दिएपछि जनमत पार्टीले मधेश प्रदेश सरकारबाट बाहिरिने चेतावनी दिएका छन् ।
जनमत पार्टीका केन्द्रीय वरिष्ठ उपाध्यक्ष वसन्त कुशवाहाले सामाजिक सञ्जालमार्फत असन्तुष्टि व्यक्त गर्दै यस्तो चेतावनी दिएका हुन् । मन्त्रिपरिषद् विस्तारको क्रममा सोमबार उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालय नेकपा (एकीकृत समाजवादी) को भागमा परेको छ ।
यसअघि २१ गते विनाविभागीय मन्त्री बनेका एकीकृत समाजवादीका कनिष पटेललाई उक्त मन्त्रालयको जिम्मेवारी दिइएपछि जनमत पार्टी असन्तुष्ट बनेको हो ।
उनले सामाजिक सञ्जालमा लेख्दै भनेका छन्, ‘यस आर्थिक वर्षमा उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालयअन्तर्गत १० हजारभन्दा बढी रोजगारी सृजना गर्ने कार्यक्रमका लागि बजेट विनियोजन गरिएको छ ।
कुशवाहाले पार्टीको उद्देश्यअनुसार सरकारमा सुनिश्चित भूमिका नपाए मधेश प्रदेश सरकार छाड्न जनमत पार्टी तयार हुनुपर्ने चेतावनी दिएका छन् । हाल सातदलीय गठबन्धनअन्तर्गत जसपा र जनमत पार्टीबाहेक अन्य दलहरू एक–एक मन्त्रालय लिएर सरकारमा सहभागी भइसकेका छन् ।














