जनकपुर, १७ मंसिर । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले प्रदेशसभाबाट विश्वासको मत नपाइने सुनिश्चित भएपछि राजीनामा दिने तयारी गरेका छन् । बिहान बोलाइएको बैठक सुरु नहुँदा दिउँसो २ बजेसम्म स्थगित भएको छ ।
१०७ सदस्यीय प्रदेश सभामा सरकारलाई टिकाउन ५४ मत आवश्यक भए पनि एमालेसँग सभामुखसहित २५ सांसद मात्र छन्, जसमा एक निलम्बित छन् ।
एमालेसँग नेपाल संघीय समाजवादी र राप्रपाका एक–एक सांसद छन्, तर राप्रपाकी कञ्चन बिच्छाको सदस्यता नै संकटमा परेकी छिन् ।
यता कांग्रेस, जसपा, जनमत, माओवादी केन्द्र, लोसपा, एकीकृत समाजवादी र नागरिक उन्मुक्ति मिलेर बनेको सात दलीय गठबन्धनसँग ७३ मत छन् ।
सर्वोच्च अदालतले मुख्यमन्त्री यादवलाई २४ घण्टाभित्र विश्वासको मत लिन आदेश दिएअनुसार आज बैठक बोलाइएको हो। विश्वासको मत नपाउने निष्कर्षपछि मुख्यमन्त्री यादवले धारणा राखेर राजीनामा दिने तयारी गरेका छन् ।














