एजेन्सी, १४ मंसिर । श्रीलंकामा लगातार परेको भारी वर्षा, बाढी र पहिरोका कारण मृत्यु हुनेको संख्या १५९ पुगेको छ र २०० भन्दा बढी मानिस अझै बेपत्ता रहेका छन् ।
आपतकालीन कार्यका महानिर्देशक सम्पत कोटुवेगोदाका अनुसार प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्य तीव्र गतिमा चलिरहेको छ । बाढी तथा पहिरोबाट घर डुबान वा क्षतिग्रस्त भएपछि ४३ हजार ९९५ जनालाई राज्यद्वारा सञ्चालन भइरहेका राहत केन्द्रहरूमा सारिएको अधिकारीहरूले बताए ।
सोमबारदेखि सुरु भएको भारी वर्षा बुधबार मुख्य क्षेत्रमा झन् तीव्र बनेपछि देशभर बाढीको अवस्था गम्भीर भएको थिए । शुक्रबार साँझ केलानी नदीको तटबन्ध भत्किएपछि धेरै बासिन्दालाई तत्कालै अस्थायी शिविरमा सार्नुपरेको थियो ।
यद्यपि धेरै स्थानमा वर्षा कम भए पनि देशको उत्तरी भागमा अझै पानी झरिरहेको छ । पीडितका लागि भारतले आवश्यक राहत सामग्री पठाइसकेको छ भने आवश्यकता परे थप सहयोग गर्न तयार रहेको भारतीय अधिकारीले जनाए ।
सरकारले उद्धार तथा राहत कार्यलाई प्रभावकारी बनाउन सेना परिचालन गरेको छ । हेलिकप्टर र डुंगाको प्रयोग गरी डुबान क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा सारिने कार्य भइरहेको छ ।
अधिकारीहरूका अनुसार यसपटक बाढीको स्तर सन् २०१६ को ठूलो बाढीभन्दा पनि बढी हुने अनुमान गरिएको छ—त्यसअघि ७१ जनाको मृत्यु भएको थियो । सन् २००० यताकै सबैभन्दा ठूलो बाढी भने सन् २००३ को जुनमा आएको थियो, जसमा २५४ जनाले ज्यान गुमाएका थिए ।














