एजेन्सी, १४ मंसिर । युक्रेनी अधिकारीहरूले कालो सागर हुँदै जाँदै गरेका रुससँग सम्बन्धित दुई तेल ट्याङ्करलाई युक्रेनी नौसैनिक ड्रोनहरूले निशाना बनाएको जनाएका छन् ।
बीबीसीको अनुसार पानीमुनी रहेका ड्रोनले छाल पार गर्दै ट्याङ्करतर्फ अघि बढेको र टक्कर लगत्तै आगो लागेको दृश्य देखिन्छ । टर्कीका अधिकारीहरूका अनुसार आक्रमणका लागि लक्षित ट्याङ्करहरू काइरोस र विराट हुन्, दुवै गाम्बियाको झण्डा बोकेका थिए ।
शुक्रबार टर्कीको तट नजिकै यी ट्याङ्करमाथि पहिलो आक्रमण भएको जनाए । शनिबार भने विराट लाई दोस्रोपटक निशाना बनाइएको रिपोर्ट गरिए पनि यस पटक कुनै मानवीय क्षति भएको छैन ।
यो आक्रमण युक्रेनले अब रुसको तेल आयआर्जनमा प्रहार गर्न चाहेको संकेतको रूपमा हेरिएको छ, जुन युक्रेन–रुस युद्ध लामो समय टिकिरहँदा रुसको आर्थिक आधार मानिन्छ ।
रिपोर्टहरूअनुसार दुवै ट्याङ्कर रूसको ‘छायाँ फ्लीट’ का हिस्सा हुन्—पश्चिमी प्रतिबन्धलाई छल्न प्रयोग गरिने सयौँ पुराना ट्याङ्करहरूको जालो, जसका स्वामित्व र बीमा विवरणहरू प्रायः अस्पष्ट हुन्छन् ।
रूसमाथि सन् २०२२ मा युक्रेनमाथि ठूलो आक्रमण सुरु गरेपछि पश्चिमी देशहरूले व्यापक प्रतिबन्ध लगाएका थिए, जसलाई बाइपास गर्न छायाँ फ्लीट प्रमुख माध्यम मानिन्छ ।














