काठमाडौं, १३ मंसिर । भक्तपुरमा आयोजित पत्रकार सम्मेलनमा दुर्गा प्रसाईंले पूर्वराजा ज्ञानेन्द्र शाह र राजावादीहरू आफूले तीन वर्षदेखि राजसंस्था र हिन्दु–राष्ट्रका लागि लडिरहँदा निष्क्रिय रहेको आरोप लगाए ।
पूर्वराजाले कुनै स्पष्ट भूमिका नखेलेको र राजावादीहरू दोहोरो चरित्रका भएकै कारण आन्दोलन सफल हुन नसकेको उनको भनाइ छ । प्रसाईंले पूर्वराजालाई सक्रिय हुनुपर्ने, केवल मौन बस्नु नहुने भन्दै आलोचना गरे।
विदेशमा बसेर सामाजिक सञ्जालमा मात्र टिप्पणी गर्ने राजावादीहरूलाई उनले ‘देश फर्केर आऊ’ भन्दै चुनौती दिए । राजसंस्था पुनस्र्थापनाको सुरक्षित उपाय ‘जनमत संग्रह’ भएको दाबी गर्दै प्रसाईंले आफ्नै प्रस्तावलाई राजावादीहरूले विरोध गर्नु विडम्बनापूर्ण रहेको बताए ।
आफू जेल बसेर पनि आन्दोलन चलाइरहेको तर अन्य राजावादी नेताहरू निष्क्रिय रहेको भन्दै उनले असन्तुष्टि व्यक्त गरे। प्रसाईंले प्रधानमन्त्रीको टेबलसम्म राजसंस्था–हिन्दु राज्यको माग पु¥याउन सफल भएको दाबी पनि गरे ।














