महोत्तरी, १३ मंसिर। जेन–जी आन्दोलनका क्रममा जलेश्वर कारागार तोडफोडपछि भागेका कैदीबन्दीमध्ये २७३ जना अझै फरार रहेका छन्।
कुल ५७६ मध्ये ३०३ जना स्वेच्छाले कारागार फर्किएको जेलर अशोककुमार क्षेत्रीले जानकारी दिए । कारागार प्रशासनले भदौ २५ गतेकै दिन सबै फरारलाई आत्मसमर्पण गर्न आह्वान गरेको थियो।
फर्किन नमानेका कैदीबन्दीमाथि कारागार ऐन २०७९ तथा प्रचलित कानुनअनुसार कारबाही हुने चेतावनी समेत दिएको छ। यस्तै, फरार कैदीलाई लुकाउने वा आश्रय दिने व्यक्तिमाथि पनि कानुनी कार्यवाही हुने बताइएको छ।
भागेकामध्ये १३ जना भारतीय नागरिकलाई भारत भाग्ने क्रममा भारतीय प्रहरीले पक्राउ गरी नेपाल फर्काउन सहयोग गरेको थियो। बाँकी कैदीहरू स्वयं कारागार फर्किएका हुन्।
फरार २७३ जनाको खोजतलासमा प्रशासन सक्रिय रहेको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए।














