जनकपुर, १२ मंसिर । मधेस प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादव विरुद्ध दायर गरिएको रिट मुद्दा फेरि पनि हेर्दाहेर्दैमा राखिएको छ ।
शुक्रबार न्यायाधीशद्वय हरिप्रसाद फुयाल र नित्यानन्द पाण्डेयको इजलासमा सुनुवाइ तय भए पनि प्रक्रिया नसकिँदा मुद्दा आगामी मंसिर १५ गतेका लागि पुनः हेर्दाहेर्दैमा सारिएको हो ।
यसअघि पनि बिहीबारका लागि तोकिएको सुनुवाइ सम्पन्न हुन नसक्दा मुद्दा शुक्रबारलाई सारिएको थियो । लगातार दुई दिन सुनुवाइ नटुंगिनु यस मुद्दाको संवेदनशीलता र समय लाग्ने प्रक्रियालाई संकेत गर्ने प्रकारको देखिएको छ ।
उक्त रिट मधेस कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादवसहित ७४ जना सांसदले दर्ता गरेका हुन् । उनीहरूले मुख्यमन्त्री सरोज यादवको नियुक्ति संविधान र कानुनविपरीत भएको दाबी गर्दै नियुक्ति खारेज गर्न माग गरेका छन् ।
प्रदेशसभा भित्री सत्ता समीकरण, समर्थन संख्या र संवैधानिक व्यवस्थासम्बन्धी विवादकै कारण यस मुद्दाले प्रदेश राजनीतिको तापक्रम बढाइरहेको छ ।














