जनकपुर, १२ मंसिर। राज्यको मुलधारबाट वर्षौंदेखि पछाडि पारिएका समुदायहरूको आवाज सशक्त रूपमा उठाउने उद्देश्यले ‘दलित, पिछडावर्ग, थारू, आदिवासी र अल्पसंख्यक परिसंघ (DOTIM)’ ले धनुषामा बृहत जिल्ला भेला तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ।
कार्यक्रम भोलि मंसिर १३ गते जनकपुरको जानकी बाटिका पार्टी प्यालेसमा ११ बजे देखि सञ्चालन हुने बताइएको छ।
परिसंघका संयोजक चन्देश्वर पासवानका अनुसार कार्यक्रममार्फत दलित, पिछडावर्ग, थारू, आदिवासी तथा अल्पसंख्यक समुदायबीच एकता मजबुत बनाउने, अधिकारको सुनिश्चितता र राज्य संरचनामा समान सहभागिता दिलाउने दीर्घकालीन रणनीति तय गर्ने लक्ष्य छ।
“सम्पूर्ण तयारी पूरा भइसकेको छ। सबै समुदाय, सरोकारवाला तथा सचेत नागरिकलाई अर्थपूर्ण सहभागिताको लागि हार्दिक निमन्त्रणा छ,” संयोजक पासवानले बताएका छन्।
कार्यक्रममा स्थानीय जनप्रतिनिधि, सामाजिक अगुवाहरू, अधिकारकर्मी तथा विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूको उपस्थिति रहने अनुमान गरिएको छ।















