काठमाडौँ, ११ मंसिर। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आगामी मंसिर २३ गते काठमाडौँ उपत्यकामा विशाल प्रदर्शन गर्ने घोषणा गरेको छ।
बिहीबार धुम्बाराहीस्थित केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले राजनीतिक हस्तक्षेपविरुद्ध आवाज उठाउन तथा ‘राजा, राजनीतिक दल र जेनजीबीच नयाँ राजनीतिक समझदारी’ निर्माणका लागि दबाब सिर्जना गर्ने उद्देश्यले प्रदर्शन गर्ने निर्णय गरेको हो।
बैठकपछि सञ्चारकर्मीहरूलाई जानकारी दिंदै राप्रपाका प्रवक्ता मोहन कुमार श्रेष्ठले वर्तमान राजनीतिक अवस्थाले देश संकटतर्फ धकेलिरहेको भन्दै नयाँ प्रकारको राष्ट्रिय सहमतिको आवश्यकता परेको बताए।
उनले उक्त सहमति निर्माणका लागि जनमत जगाउने उद्देश्यले उपत्यकाव्यापी शक्ति प्रदर्शन गर्न लागिएको स्पष्ट पारे। उनका अनुसार प्रदर्शनमा पार्टीको सबै तहका संरचना, शुभेच्छुक, युवा–विद्यार्थी तथा विभिन्न सामाजिक समूहहरूको सहभागिता रहनेछ।
राप्रपाले आगामी दिनमा प्रदर्शनको मार्ग, कार्यक्रम तालिका र आवश्यक तयारीबारे थप विवरण सार्वजनिक गर्ने जनाएको छ।














