जनकपुर, १० मंसिर । जनता समाजवादी पार्टी (जसपा), नेपालको पार्टी स्कुल तथा प्रशिक्षण विभागद्वारा आयोजना गरिएको मधेश प्रदेशस्तरीय ३ दिने प्रशिक्षण कार्यक्रम आज जनकपुरमा औपचारिक रूपमा सुरु भएको छ ।
उद्घाटन कार्यक्रममा पार्टी नेतृत्व, प्रदेश कमिटीका पदाधिकारी, स्थानीय संरचनाका प्रतिनिधि तथा युवा–विद्यार्थी संगठनका कार्यकर्ताहरूको उल्लेख्य उपस्थिति रहेको आयोजकले जनाएको छ ।
उद्घाटन सत्रपछि सुरु भएको पहिलो दिनको मुख्य प्रशिक्षण सेसन पार्टी अध्यक्ष एवं प्रमुख प्रशिक्षक उपेन्द्र यादवले सञ्चालन गरे । उनीले “नेपालको राजनीतिक शक्तिहरूको तुलनात्मक अध्ययन” शीर्षकमा विस्तृत प्रस्तुति दिँदै देशको बदलिंदो राजनीतिक समीकरण, दलगत वैचारिक आधार, शक्ति–सन्तुलन, प्रदेश–संघीय समन्वय, र मधेश प्रदेशसम्बन्धी नीतिगत विषयवस्तुहरुबारे गहिरो विश्लेषण प्रस्तुत गरे ।
यादवले राजनीतिक दलहरूले मुलुकमा खेलेको भूमिका, संघीयता लागू भइसकेपछिका चुनौतीहरू, र मधेश प्रदेशका अपेक्षा तथा सम्भावनाका बारेमा प्रशिक्षणार्थीहरूसँग अन्तरक्रिया गर्दै संगठनात्मक स्पष्टता र वैचारिक परिपक्वता पार्टी सुदृढीकरणका लागि अत्यावश्यक रहेकोमा जोड दिए ।
पार्टी स्कुल तथा प्रशिक्षण विभागका अध्यक्ष सुरेश मण्डलका अनुसार, यो ३ दिने कार्यक्रमले मधेश प्रदेशभरका संगठनहरूलाई थप प्रभावकारी बनाउने, नेताहरूलाई नीतिगत दिशानिर्देश प्रदान गर्ने तथा कार्यकर्ताहरूलाई अध्ययन–अभ्यासमा प्रणालीगत ढंगले अभ्यस्त गराउने उद्देश्य राखिएको छ ।
उनको भनाइमा, ‘‘प्रशिक्षणले संरचना, कार्यक्रम र अभियान सञ्चालनमा एकरूपता ल्याउन मद्दत गर्नेछ । कार्यक्रम आगामी दुई दिनसम्म विभिन्न थिमेटिक सेसन, समूहगत छलफल, वैचारिक कक्षा तथा व्यवहारिक कार्यसत्रसहित निरन्तर सञ्चालन हुने बताइएको छ ।














