काठमाडौँ, ७ मङ्सिर। नेपाल प्रहरीले यस आर्थिक वर्षमा २६२ वटा नयाँ सवारीसाधन खरिद गर्ने प्रक्रिया अघि बढाएको छ।
यीमध्ये १५६ सवारी साधन नियमित बजेटबाट र १०६ वटा अतिरिक्त बजेटबाट खरिद गरिने गृहमन्त्रालयले जनाएको छ। नियमित बजेटका गाडीका लागि ३५ करोड ११ लाख र थप बजेटका गाडीका लागि ४५ करोड ३० लाख खर्च हुने गरी अर्थ मन्त्रालयले स्वीकृति प्रदान गरिसकेको छ।
यसरी नेपाल प्रहरीले कुल ८० करोड ४१ लाख रुपैयाँ बराबरका सवारीसाधन खरिद गर्दैछ।
नियमित बजेटबाट खरिद गरिन लागेका १५६ सवारीसाधनमध्ये ७५ पिकअप भ्यान, १ थुनुवा ओसारपसार गाडी, २८ कार्यालय प्रयोजनका सवारी, ४१ विद्युतिय कार्यालय गाडी र १० एस्कर्ट पिकअप भ्यान रहेका छन्।
यसैगरी गृह मन्त्रालयका लागि ५९ सवारीसाधन खरिद गर्न अर्थ मन्त्रालयले स्रोत अनुमति दिइसकेको छ। तीमध्ये ३ विपद् उद्धारका गाडी, ५० बोलेरो पिकअप, ३ दङ्गा नियन्त्रण ट्रक र २ एम्बुलेन्स किन्न बजेट विनियोजन भएको गृहमन्त्रीको सचिवालयले जनाएको छ।
नियमित बजेटबाट २१ करोड ६ लाख र थप ५ करोड ६ लाख सशस्त्र प्रहरीका लागि छुट्याइनेछ।
राष्ट्रिय अनुसन्धान विभागका लागि पनि ६ वटा सवारीसाधन खरिद गर्न २ करोड ८० लाखको अनुमति पाएको छ।
गृहमन्त्रालयका अनुसार तीनै सुरक्षा निकायका सवारीसाधन चुनावअगाडि नै उपलब्ध हुनेछन्।
जेनजी आन्दोलनका क्रममा नेपाल प्रहरीका ५७१, सशस्त्र प्रहरीका ६१ तथा अनुसन्धान विभागका ४१ सवारीसाधन क्षतिग्रस्त भएका थिए।
आजसम्म ४४९ प्रहरी कार्यालय पुनः सञ्चालनमा आइसकेका भए पनि १६ कार्यालय अझै सञ्चालनमा आउन सकेका छैनन्।
त्यसैगरी सशस्त्र प्रहरीका ८४ कार्यालय तथा अनुसन्धान विभागका केही भवनहरू पनि क्षतिग्रस्त भएका थिए।














