काठमाडौं, ६ मंसिर । पेरिसडाँडामा जेनजी कार्यकर्तासँगको संवाद कार्यक्रममा नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अब देशको जिम्मेवारी युवा पुस्तालाई सुम्पिने समय आएको बताए ।
अघिल्लो पुस्ताले वैचारिक तथा सांस्कृतिक रूपमा युवालाई मार्गदर्शन गर्ने तर नेतृत्व युवाले लिनुपर्ने उनले स्पष्ट पारे । जेनजी आन्दोलनले देशभर नयाँ चेतना जगाएको भन्दै प्रचण्डले त्यसले आफूहरूलाई थप ऊर्जा दिएको बताए ।
युवाले उठाएका माग सही भएको उल्लेख गर्दै उनले भ्रष्टाचार नियन्त्रण, सुशासन, विकास र समृद्धिका लागि युवा पुस्ताको पहल अत्यावश्यक रहेको बताए ।
विगतमा आफूहरूले गर्न नसकेका कामबारे आत्मसमीक्षा गर्दै प्रचण्डले नयाँ नेपाल निर्माणमा सबै पुस्ताले एक भएर अघि बढ्नुपर्नेमा जोड दिए ।
युवाको सक्रियताले नै विगतका आन्दोलन, संविधानसभा निर्वाचन र समावेशी संरचना सम्भव भएको उनले स्मरण गरे ।














