काठमाडौं, ४ मंसिर । नेकपा एमालेका नेता–कार्यकर्ता र जेनजी युवाबीचको झडपका कारण अशान्त बनेका बाराको सिमरा बजार आज पनि तनावग्रस्त बनेको छन ।
आफूहरूमाथि कुटपिट गर्ने एमाले नेता–कार्यकर्तालाई प्रहरीले पक्राउ नगरेको भन्दै जेनजी युवाले सिमरा बजार क्षेत्रमा दुई दिन देखि प्रदर्शन गरिरहेका छन् ।
अहिले बजार क्षेत्रमा ठूलो संख्यामा युवाहरुको उपस्थिति रहेको छ । सडकमा टायर बालेर यातायात अवरुद्ध पार्दै प्रदर्शनमा उत्रिएपछि प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन खोज्दा झडप भएको छ ।
झडपमा परेर दुवैतर्फका केही सामान्य घाइते समेत भएका छन् । झडपको क्रममा युवाहरूले प्रहरीमाथि ढुंगाइँट्टा प्रहार गरेपछि प्रहरी पछि हटेको छ ।
इलाका प्रहरी कार्यालय सिमराका डीएसपी वेदप्रकाश जोशीले भने,जेनजीको हिजोको प्रदर्शनको नेतृत्व गरेकाहरूसँगको समझदारी अनुसार हामीले दुईजनालाई पक्राउ गरिसकेका छौं ।
तर, आज पनि प्रदर्शन नरोकिएपछि हामीले सडक खुलाउन खोज्दा झडप भएको छ । प्रदर्शनकारीले भने पक्राउ परेकालाई सिमरा चोकमा ल्याउनु पर्ने माग गर्दै नारावाजी गरिरहेका छन् ।














