जनकपुर, ४ मंसिर । बाराको सिमरा विमानस्थल आसपास आज पनि कफ्र्यु जारी गरिएको छ ।
बुधबार जेनजी आन्दोलनकारी र एमाले कार्यकर्ताबीच भएको झडपपछि स्थिति तनावपूर्ण बनेको कारण प्रशासनले आज दिउँसो १ बजेदेखि साँझ ८ बजेसम्म कफ्र्यु लगाएको हो ।
कफ्र्यु पथलैया चोक दक्षिणदेखि जितपुर लल्का पुलसम्म राजमार्गको दायाँ–बायाँ ५०० मिटर क्षेत्र र सिमरा विमानस्थलको ५ सय मिटर वरपर लागू हुनेछ । आज बिहानैदेखि जेनजीहरूले प्रदर्शन जारी राखेका छन् । सडक अवरुद्ध हुँदा केहीबेर प्रहरी र प्रदर्शनकारीबीच झडपसमेत भएको थियो ।
बुधबारको झडपमा संलग्न आरोपमा जितपुर सिमरा उपमहानगरपालिकाका वडा अध्यक्ष धनबहादुर श्रेष्ठ (व धबचम २) र कैमद्विन अंसारी (व धबचम ६) लाई प्रहरीले पक्राउ गरिसकेको छ ।
उनीहरूविरुद्ध स्थानीय जेनजी सम्राट भनिने साइकुस उपाध्यायले कुटपिटको जाहेरी दिएका थिए । एमालेका महासचिव शंकर पोखरेल र नेता महेश बस्नेत सिमरा आउने जानकारी पाएपछि जेनजीहरूले विमानस्थल अगाडि प्रदर्शन गर्दै गेटसमेत तोडफोड गरेका थिए ।
घटनामा संलग्न सबैलाई कारबाही नभए आन्दोलन जारी राख्ने जेनजीहरूको चेतावनीपछि स्थिति थप संवेदनशील बनेको प्रशासनले बतााए ।














