जनकपुर, १३ कार्तिक । मधेस प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनलले कात्तिक २२ गते प्रदेशसभाबाट विश्वासको मत लिने भएका छन् ।
असोज २९ गते पाँच दलको समर्थनमा मुख्यमन्त्री बनेका सोनललाई अहिले नागरिक उन्मुक्ति र संघीय समाजवादी पार्टीले पनि समर्थन जनाएका छन् ।
यससँगै कांग्रेस र एमाले बाहेक सबै दलको समर्थन उनलाई प्राप्त छ । सोनलले असोज ३० गते शपथ ग्रहण गरेका थिए र दुई मन्त्री नियुक्त गरे पनि मन्त्रिपरिषद् विस्तार गरेका छैनन् ।
विश्वासको मत लिएपछि मात्रै मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरिएको छ । गठबन्धनमा मन्त्रालय बाँडफाँडबारे अन्तिम सहमति नभए पनि जसपाले चार, जनमतले तीन, माओवादी केन्द्र र एकीकृत समाजवादीले दुई–दुई मन्त्रालय पाउने सम्भावना छ ।
जनमत पार्टीभित्रको विभाजनका कारण विश्वासको मतमा असर पर्न सक्ने आशंका गरिएको छ, तर सोनलले स्थिर बहुमतको दाबी गरेका छन् ।














