काठमाडौं, १२ कार्तिक । राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी नेपाल र अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) बीच पार्टी एकताको सम्भावना बारे औपचारिक संवाद सुरु भएको छ ।
राष्ट्रिय मुक्ति पार्टीले जसपालाई एकताको प्रस्तावसहित आधिकारिक पत्र पठाएको छ, जसको छलफल जसपाको कार्यकारी समितिमा हुने भएको छ ।
यसअघि साउन अन्त्यतिर दुवै दलबीच कार्यगत सहकार्य भएको थियो । तर, जेनजी आन्दोलनपछि राजनीतिक परिस्थिति परिवर्तन भएको भन्दै राष्ट्रिय मुक्ति पार्टीले कात्तिकभित्र एकता टुंग्याउने प्रस्ताव अघि सारेको छ ।
दुवै पक्षका नेताहरूले एकताको सम्भावना खुला रहेको जनाएका छन् । जसपाको आजको बैठकमा एकता प्रस्ताव र नयाँ राजनीतिक परिस्थिति दुबैबारे छलफल हुने जनाएको छ ।














