काठमाडौं, ५ कार्तिक । प्रधानमन्त्री सुशीला कार्कीले नेपाल संवत्का प्रवर्तक शंखधर साख्वालाई महान् समाजसेवी र लोककल्याणकारी व्यक्तित्व भन्दै उनको योगदानको स्मरण गरेकी छन् ।
ललितपुरको मंगलबजारमा आयोजित नेपाल संवत् ११४६ न्हूदँ समारोहमा बोल्दै उनले शंखधरले ऋणमोचन गरी जनतालाई राहत दिएको ऐतिहासिक कार्य सामाजिक न्यायको प्रतीक भएको बताइन् ।
नेपाल संवत् राष्ट्रियता, मौलिकता र सामाजिक इतिहासको धरोहर भएकाले यसको संरक्षण र प्रवर्धनमा सरकार प्रतिबद्ध रहेको उल्लेख गरिन् ।
साथै, प्रधानमन्त्रीले भ्रष्टाचारविरोधी जेनजी आन्दोलनमा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै, सो आन्दोलनले लोकतान्त्रिक सरकारको जग खनेको बताइन् ।
२०८२ फागुन २१ गतेको निर्वाचन सफल बनाउन सबै तहको सहकार्य आवश्यक रहेको बताउँदै, प्रधानमन्त्री कार्कीले भयरहित वातावरणमा मताधिकार प्रयोग गर्नु सबै नागरिकको दायित्व भएको स्पष्ट पारिन् ।














