काठमाडौँ, २२ असोज । प्रधानमन्त्री तथा परराष्ट्र मन्त्री सुशीला कार्कीले आज विभिन्न देशहरूमा कार्यरत नेपाली राजदूतहरू र कूटनीतिक नियोग प्रमुखहरूसँग भर्चुअल माध्यममार्फत पहिलोपटक औपचारिक संवाद (ब्रिफिङ) गर्न लागेकी छिन् ।
परराष्ट्र मन्त्रालयका अनुसार आज बुधबार दिउँसो हुने उक्त कार्यक्रममा प्रधानमन्त्रीले सरकारको प्राथमिकता, हालको आन्तरिक राजनीतिक अवस्थाबारे जानकारी दिनेछिन् ।
साथै, नेपालको लोकतान्त्रिक प्रक्रियाप्रति सरकारको प्रतिबद्धता दोहोर्याउँदै आगामी ६ महिनाभित्र संघीय, प्रदेश तथा स्थानीय तहका निर्वाचन सम्पन्न गर्ने सरकारको योजना पनि ब्रिफिङमार्फत स्पष्ट पार्नेछिन् ।
प्रधानमन्त्री कार्कीले राजदूतहरूलाई नेपाल–आवद्ध मुलुकहरूमा नेपालको छवि प्रवद्र्धन गर्न, द्विपक्षीय सहयोग विस्तार गर्न, वैदेशिक लगानी आकर्षित गर्न तथा आप्रवासी नेपालीको हितमा काम गर्न निर्देशन दिने अपेक्षा गरिएको छ ।
त्यसैगरी, सरकारले पुनर्निर्माण, दिगो विकास र विदेश नीति कार्यान्वयनमा कूटनीतिक संयन्त्रको भूमिकालाई अझ सशक्त बनाउन चाहेको सन्देश पनि उक्त ब्रिफिङमार्फत दिने योजना बनाइएको छ ।
यससँगै, परराष्ट्र मन्त्रालयले नेपालस्थित विदेशी नियोग प्रमुखहरू (राजदूतहरू) लाई पनि छुट्टै ब्रिफिङ गर्दै सरकारको नीति तथा प्राथमिकता प्रस्तुत गर्ने तयारी गरिरहेको छ ।
यस अवसरमा नेपालमा लोकतन्त्र, सुशासन र विकासका क्षेत्रमा गरिएको प्रगति तथा आगामी कदमबारे जानकारी दिइनेछ । नयाँ सरकार गठनपछि यस्ता ब्रिफिङमार्फत आन्तरिक तथा बाह्य नीति स्पष्ट पार्ने र कूटनीतिक सम्बन्धलाई सुदृढ गर्ने अभ्यास विगतदेखि चलिआएको हो ।














