जनकपुर, २१ मंसिर । मधेश प्रदेशको राजधानी जनकपुरस्थित जिल्ला प्रशासन कार्यालय अगाडि जनता समाजवादी पार्टी (जसपा) नेपालले २२ बुँदे मागहरू सम्बोधनको दबाब स्वरूप आइतबार दोस्रो दिन पनि शान्तिपूर्ण धर्ना जारी राखेको छ ।
जसपाले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति प्रणाली लागू गर्ने, जनसंख्याका आधारमा निर्वाचन क्षेत्र पुनःनिर्धारण, पूर्ण समावेशी संसद गठन, महिला र दलितका लागि आरक्षित निर्वाचन क्षेत्र तोक्ने, राज्यका सबै निकायमा समानुपातिक सहभागिता सुनिश्चित गर्ने लगायतका राजनीतिक तथा संरचनागत मागहरू अघि सारेको छ ।
साथै किसानलाई मलखादको सहज आपूर्ति, नागरिकता समस्याको समाधान, र प्रदेश–संघीय संरचनामा मधेशका अधिकार सुनिश्चित गर्नुपर्ने जस्ता जनजीवनसँग प्रत्यक्ष सम्बन्धित विषयहरू पनि माग सूचीमा समावेश छन् । नेताहरूले धर्ना सम्बोधन गर्दै २२ बुँदे माग जनताको हक–अधिकार र सामाजिक न्यायसँग प्रत्यक्ष सम्बन्धित रहेको बताउँदै, सरकारले वेवास्ता गरेसम्म आन्दोलन निरन्तर रूपमा शान्तिपूर्ण ढङ्गले सञ्चालन गरिने चेतावनी दिए ।
उनीहरूका अनुसार, यो आन्दोलन सत्ता वा पदका लागि नभई दीर्घकालीन राजनीतिक स्थिरता, समावेशी राज्य संरचना र मधेशी समुदायका अधिकार संरक्षणका लागि अपरिहार्य भएको हो ।
जसपा जिल्ला अध्यक्ष पशुपति यादवको अध्यक्षतामा सम्पन्न धर्ना कार्यक्रममा केन्द्रीय उपमहासचिव दीपक कार्की, प्रदेश सांसद तथा कार्यकारिणी सदस्य राजकुमार गुप्ता, केन्द्रीय सदस्य तथा प्रदेश सांसद रामआशिष यादव, प्रदेश सांसद किरण साह, दलित मुक्ति संघकी केन्द्रीय अध्यक्ष तथा पूर्व सांसद चमेली देवी दास, केन्द्रीय सदस्य अरुण सिंह मण्डल, विमल साहलगायत नेताहरू सहभागी थिए ।














