काठमाडौं, २१ असोज । निर्वाचन आयोगले फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचन तयारीको क्रममा असोज ३० गते राजनीतिक दलका प्रतिनिधिसँग छलफल गर्ने भएको छ ।
कार्यवाहक प्रमुख निर्वाचन अधिकृत रामप्रसाद भण्डारीका अनुसार आयोगले निर्वाचन सम्बन्धी विभिन्न विषयमा दलहरुसँग सुझाव र परामर्श लिन बैठक बोलाउने तयारी गरेको हो । आगामी फागुन २१ को निर्वाचनबारे दलका प्रतिनिधिसँग छलफल गर्न आयोगले पहल गरेको छ ।
कस्ता दललाई बोलाइने भन्ने प्रश्नमा उनले भने, ‘प्रमुख दलहरू त सहभागी हुने नै छन् । साथै, कम्तीमा वडा सदस्य स्तरमा जित हासिल गरेका दलहरूलाई पनि छलफलमा आमन्त्रित गरिनेछ ।’
उनका अनुसार असोज ३० गते हुने छलफलमा निर्वाचन कार्यतालिका कार्यान्वयन, तयारी अवस्था र दलहरूको भूमिकाबारे विस्तृत रूपमा कुरा हुनेछ । आयोगले दलहरूले तोकेका सम्पर्क व्यक्तिहरूमार्फत छलफल आह्वान गर्ने तयारी गरेको छ ।
निर्वाचन कार्यतालिका सार्वजनिक भइसकेको अवस्थामासमेत दलहरूसँग समन्वय र परामर्श नल्याएको भन्दै उठेका असन्तुष्टि बीच आयोगले छलफलको मिति तय गरेको हो ।













