काठमाडौँ, २० असोज । प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक बोलाएकी छन् ।
प्रधानमन्त्री कार्कीले मंगलबार बिहान साढे ११ बजे प्रधानमन्त्री कार्यालयमा बैठक आह्वान गरेकी हुन् । राष्ट्रिय परिषद्को बैठकले हालको बाढीपहिरोबाट प्रभावित क्षेत्रका पीडितका लागि राहत र पुनर्निर्माण कार्यलाई प्रभावकारी बनाउनेबारे छलफल गर्नेछ ।
बैठकमा अस्थायी तथा स्थायी वासस्थानको व्यवस्था, क्षतिग्रस्त पूर्वाधारको पुनःनिर्माण, तथा उद्धार र राहत कार्यको समन्वयबारे निर्णय हुने अपेक्षा गरिएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख दिनेशप्रसाद भट्टका अनुसार अविरल वर्षापछि आएको बाढी र पहिरोका कारण हालसम्म ४५ जनाको मृत्यु भएको छ ।
६ जना बेपत्ता छन् भने २४ जना घाइतेको स्थानीय प्रशासनको समन्वयमा निःशुल्क उपचार भइरहेको छ । भट्टले प्रभावित परिवारलाई खाद्यान्न, बसोबास तथा अन्य आवश्यक सामग्री वितरणको व्यवस्था गरिएको बताएको छ । उनका अनुसार अझै पनि केही स्थानमा खोज तथा उद्धार कार्य जारी रहेको र जनधनको क्षतिको विस्तृत विवरण संकलन भइरहेको छ ।














