जनकपुर, १७ असोज । महिला सशक्तीकरण र बालिका शिक्षाको प्रवद्र्धनका लागि सात वर्षअघि सुरु गरिएको ‘बेटी पढाऔँ, बेटी बचाऔँ’ योजना अन्तर्गत सञ्चालित छोरी शिक्षा बीमा कार्यक्रम बजेट अभावका कारण यो वर्ष स्थगित गरिएको छ ।
मधेस प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२÷८३ को बजेटमा उक्त कार्यक्रमका लागि कुनै पनि रकम विनियोजन नगरेपछि कार्यक्रम रोकिएको हो ।
शिक्षा विकास निर्देशनालय अन्तर्गत सञ्चालित यस कार्यक्रमले आर्थिक रूपमा कमजोर वर्गका छोरीहरूलाई शिक्षा जारी राख्न प्रेरणा मिलोस् भन्ने उद्देश्य लिएको थियो ।
योजना अनुसार प्रत्येक छोरीको नाममा बीमा गरिने र बीमा अवधि पूरा भएपछि रकम शिक्षामा उपयोग गर्न सकिने व्यवस्था थियो । कार्यक्रमका संयोजक प्रियंका यादवका अनुसार हालसम्म कुल १४,४५३ जना छोरीहरूको बीमा गरिएको छ ।
तीमध्ये धेरैको बीमा प्रिमियम तिर्न बाँकी नै छ । यादवका अनुसार करिब १० हजार जना छोरीको बीमा प्रिमियम अझै बाँकी रहेको छ । बीमा योजनामा सहभागी गराउन एक जनाको लागि रु ३७,४५७ प्रिमियम लाग्छ ।
तर आर्थिक वर्ष २०७५÷७६ देखि २०८०÷८१ सम्मको तथ्यांक हेर्दा बीमा हुने संख्यामा उतारचढाव देखिएको छ ।
२०७५÷७६ – ५,६६६ जना
२०७८÷७९ – १,७०२ जना
२०७९÷८० – ३,३०२ जना
२०८०÷८१ – ३,७८३ जना
यस कार्यक्रम स्थगित भएपछि बालिकाहरूको शिक्षामा पर्ने प्रभाव र योजनाको दीर्घकालीन उद्देश्यप्रति सरकारको प्रतिबद्धता माथि प्रश्न उठ्न थालेको छ ।
स्थानीय सामाजिक अभियन्ता र अभिभावकहरूले यथाशीघ्र बजेटको व्यवस्था गरेर कार्यक्रम पुनः सञ्चालन गर्न माग गरेका छन् ।














