काठमाडौं, २ असोज । जेनजी आन्दोलनले केपी शर्मा ओली नेतृत्वको सरकारलाई पदच्युत गराएर देशमा राजनीतिक हलचल ल्याइसकेका छन् ।
चुनावको मिति तय भइसकेको भए पनि आन्दोलनका अगुवा युवाहरू चुनावपछिको परिदृश्यबारे स्पष्ट छैनन् ।
होटल म्यानेजमेन्टका विद्यार्थी २२ वर्षीय राज खड्का भन्छन्, “चुनाव ६ महिनामा हुन्छ भनिएको छ, तर धेरै साथीहरूलाई अझै मतदाता परिचयपत्र बनेको छैन । यसैले हाम्रो सहभागिता नै कमजोर हुने हो कि भन्ने डर छ ।”
उनी मात्र होइन, धेरै जेनजी युवाहरूलाई चुनावपछि पुरानै पार्टीहरू पुनः सत्तामा फर्किने भय छ । बानेश्वरमा दीप प्रज्ज्वलन कार्यक्रममा सहभागी खड्का थप्छन्, “हामीले आन्दोलन गरेर ठूलो बलिदान दिएका छौं । तर हामी एकताबद्ध हुन सकेनौं भने पुरानै अनुहार फर्किन्छन् र हाम्रो सबै मेहनत बेकार हुन्छ ।”
अहिलेका ठूला दलहरूमा नेतृत्वको कुनै परिवर्तन देखिएको छैन । नेकपा एमाले अझै पनि केपी शर्मा ओलीकै नेतृत्वमा छ, कांग्रेसमा शेरबहादुर देउवा नै सभापति छन् । उपसभापति पूर्णबहादुर खड्काले समेत देउवाको विकल्प खोज्ने अवस्था नभएको बताएका छन् ।
माओवादी केन्द्रमा जनार्दन शर्माले प्रचण्डलाई राजीनामा दिन सुझाए पनि प्रचण्ड नेतृत्व छाड्न तयार देखिँदैनन् र फेरि सार्वजनिक कार्यक्रममा सक्रिय हुन थालेका छन् ।
नयाँ अनुहारका रूपमा चर्चित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पनि आन्तरिक विवादमै फसेको छ । पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठको राजीनामापछि पार्टीभित्र शून्यता छ । सभापति रवि लामिछाने जेलबाट बाहिरिएपछि उल्टै आलोचनाको सामना गरिरहेकाले पार्टीको विश्वसनीयता प्रश्नमा परेको छ ।














