काठमाडौं, २ असोज । प्रधानमन्त्री सुशीला कार्की र भारतीय समकक्षी नरेन्द्र मोदीबीच आज टेलिफोन वार्ता हुने भएको छ ।
मंगलबार नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवसँगको भेटमा फोन वार्ता तय भएको थियो । भेटमा राजदूत श्रीवास्तवले नेपालको प्रधानमन्त्री नियुक्त भएकोमा कार्कीलाई भारतका प्रधानमन्त्री मोदीले पठाएको बधाई सन्देश सुनाउँदै दुई देशको घनिष्ट सम्बन्धलाई अझ सुदृढ बनाउने विषयमा छलफल भएको थियो ।
कार्की प्रधानमन्त्री बनेको भोलिपल्ट नै मोदीले तीन भाषामा सामाजिक सञ्जालमार्फत शुभकामना दिएका थिए । त्यसको भोलिपल्ट मणिपुरमा आयोजित एक कार्यक्रममा मोदीले कार्कीको प्रसंशा गरेका थिए ।
आज हुने टेलिफोन वार्ताका क्रममा फागुन २१ मा हुने निर्वाचन तयारीका लागि आवश्यक सहायता र पुनर्निर्माणमा सहयोग लगायत विषयमा छलफल हुने बुझिएको छ ।














