काठमाडौँ, २८ साउन । नेपाल सद्भावना पार्टीप तराई–मधेसको पुरानो पार्टी रहेको छ । यही पार्टीबाट राजनीति सुरु गरेकाहरु अहिले मधेसकेन्द्रित दलहरुका स्थापित नेता भएका छन् ।
गजेन्द्रनारायण सिंहले स्थापना गरेको नेपाल सद्भावना पार्टी पटक–पटक फुट्दै विभिन्न टुक्रामा विभाजन भइसकेको छ । विभिन्न समयमा सद्भावना नाममै धेरैवटा पार्टी गठन भए– सद्भावना पार्टी, संघीय सद्भावना पार्टी, तराई मधेस सद्भावना पार्टी आदि ।
अहिले नेपाल सद्भावना पार्टीबाहेक अरुको अस्तित्व छैन । तीमध्ये कुनैले अरु पार्टीसँग मिलेर नयाँ नाममा पार्टी खोले भने कुनै अरु पार्टीसँग समाहित भएका छन् । अहिले नेपाल सद्भावना पार्टी फेरि एकपटक चर्चामा आएको छ ।
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल छाडेर आएका अनिल झा यो पार्टीको अध्यक्ष बनेर फेरि भित्रिएका छन् । झाले मंगलबार निर्वाचन आयोगबाट आधिकारिता समेत पाइसकेका छन् ।
रामकुमार महतो अध्यक्ष रहेको नेपाल सद्भावना पार्टीको निर्णयबाट उनी अध्यक्ष भएको जनाएाको छ । तर महतोले भने जालझेल गरेर पार्टी हत्याएको आरोप लगाइरहेका छन् ।
२०७४ वैशाखमा विभिन्न दल मिलेर राष्ट्रिय जनता पार्टी नेपाल गठन हुँदा ती दलहरुमध्ये झाले नेतृत्व गरेको नेपाल सद्भावना पार्टी पनि एक थियो । राजपा नेपाल बनेपछि निर्वाचन आयोगमा खाली रहेको नेपाल सद्भावना पार्टी रामकुमार महतोले आफ्नो नाममा दर्ता गराएर सञ्चालनमा ल्याएका थिए ।














