जनकपुर, २२ साउन । जनकपुरको विभिन्न स्थानमा फोहरको समस्या विकराल बन्दै गएको छ ।
शहरका प्रमुख चौकहरू, सडक किनार, पोखरी क्षेत्र, पसलहरू अगाडि तथा धार्मिक स्थलहरूजस्तै मन्दिरहरूको परिसरमा समेत फोहर थुप्रिएको देखिन्छ ।
स्थानीय बासिन्दाहरूका अनुसार नगरपालिका व्यवस्थापनमा चासो नदिँदा फोहरको समस्या दिनप्रतिदिन बढ्दै गएको छ । सरसफाइ नियमित रूपमा नगरिएको र कचरा संकलन गर्ने गाडी समयमा नआउँदा नागरिकहरू आफैंले फोहर सडकमा फाल्न बाध्य भएको गुनासो गरेका छन ।
जनक चोक, रामचौक, जानकी मन्दिर आसपासका क्षेत्रहरूमा त झन् फोहरको थुप्रोले दुर्गन्ध समेत फैलिएको छ । यस्ता स्थानहरूमा स्वच्छता नहुनु स्वास्थ्यका दृष्टिकोणले पनि जोखिमपूर्ण रहेको जनस्वास्थ्य विज्ञहरूको भनाइ छ ।
यता, जनकपुर उपमहानगरपालिकाले भने फोहोर व्यवस्थापनका लागि योजनाबद्ध ढंगले काम भइरहेको बताउँदै आएको छ । तर नागरिकहरू भने ती योजना व्यवहारमा नआएको भन्दै असन्तुष्ट छन् ।
स्थानीय बासिन्दा रामनारायण साह भन्छन्, “जनकपुर जस्तो पवित्र स्थल फोहरले भरिएको देख्दा दुःख लाग्छ । हामी यहाँका बासिन्दा मात्र हैन, पर्यटक पनि प्रभावित हुन्छन् ।
जनकपुर धार्मिक, ऐतिहासिक र सांस्कृतिक दृष्टिकोणले अति महत्वपूर्ण शहर हो । यस्तो ठाउँमा सरसफाइमा बेवास्ता हुनु नगरको छवि नै धूमिल बनाउने खतरा रहेको चिन्तकहरूको भनाइ छ 



















