काठमाडौं, २२ साउन । ललितपुरको महालक्ष्मी नगरपालिका–३ स्थित एक घरमा १८ वर्षीया किशोरीको मृत्यु भएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार, मृतक किशोरी बुधबार दिउँसो आफ्नो १८ वर्षीय केटा साथीको घर गएकी थिइन् ।
सोही घरमै अचानक बेहोस भइ उनलाई तत्काल ग्वार्कोस्थित किष्ट अस्पताल लगिएको भए पनि चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।
प्रहरीका अनुसार, मृतक किशोरी र ती युवक प्रेम सम्बन्धमा रहेको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ । मृत्युको कारण अझै पुष्टि भइनसकेकाले घटनाको सत्यतथ्य पत्ता लगाउन पोस्टमार्टमको प्रक्रिया अघि बढाइएको छ ।
किशोरीको शव अहिले शिक्षण अस्पताल, महाराजगञ्जमा राखिएको छ । घटनासँग सम्बन्धित थप जानकारी संकलन गर्न प्रहरीले केटा साथीलाई नियन्त्रणमा लिई प्रहरी वृत्त सातदोबाटोमा राखी बयान लिँदैछ ।
प्रहरीले मोबाइल विवरण, घटनास्थलको निरीक्षण तथा अन्य तथ्य संकलन गर्दै अनुसन्धान अघि बढाएको जनाएको छ । प्रहरी प्रवक्ता एसपी चक्रराज जोशीले प्रारम्भिक चरणमा घटना संदिग्ध देखिएको र अनुसन्धानपछि मात्र घटनाको वास्तविकता बाहिर आउने बताएका छन् ।
उनले घटनालाई गम्भीर रुपमा लिएर आवश्यक विधि र प्रक्रिया अनुसार अगाडि बढिरहेको बताए ।














