काठमाडौं, २० साउन । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री इन्द्रबहादुर बानियाँसहित ८ मन्त्रीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।
मंगलबार संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्री नियुक्त भएका बानियाँसहित नवनियुक्त मन्त्रीहरूले शपथ खाएका हुन् ।
बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले मुख्यमन्त्री बानियाँका साथै मन्त्रीहरू शिवराज अधिकारी र कृष्णकुमार तामाङले शपथ खाएका हुन् ।
अधिकारीको लागि मन्त्रालय तोकिएको छैन भने तामाङलाई खानेपानी ऊर्जा तथा सिँचाइ मन्त्रालयको जिम्मेवारी दिएको छ । यस्तै, एमालेका ६ मन्त्रीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् ।
एमालेबाट कृषि तथा पशुपन्छी विकास मन्त्री मधुसूदन पौडेल, श्रम, रोजगार तथा यातायात मन्त्री जयराम थापा, उद्योग मन्त्री विन्दु श्रेष्ठ, भौतिक पूर्वाधार विकास मन्त्री दिनेशचन्द्र देवकोटा, स्वास्थ्य मन्त्री किरण थापा र वन मन्त्री भरत केसीले शपथ लिएका छन् ।
१४ मन्त्रालय रहेका बागमतीमा एमालेको भागमा ६ र कांग्रेसको भागमा मुख्यमन्त्रीसहित ७ मन्त्री पाउनेछन्। कांग्रेसभित्रको किचलोले कांग्रेसले ५ मन्त्री भने नियुक्त गरेको छैन । केही दिनमा मन्त्री नियुक्त गर्ने बताइएको छ ।














