धनगढी, २० साउन । कञ्चनपुरमा एक किशोरी मृत फेला परेकी छन् । १७ वर्षीया सम्झना भट्ट घरमै झुण्डिएको अवस्थामा फेला परेकी हुन् ।
६ महिनाअघि मात्रै बेल्डाँडी गाउँपालिका–२ का २४ वर्षीय पवन भट्टसँग विवाह गरेकी सम्झना आइतबार मृत भेटिएकी हुन् । माइती पक्षले घटना शंकास्पद भएको बताएपछि प्रहरीले सम्झनाका श्रीमान् पवनलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको ।
श्रीमान्ले कुटपिट गरेको, यातना र तनाव दिएका कारण उनको मृत्यु भएको भन्दै माइती पक्षले किटानी जाहेरी दिएका छन् । सोही जाहेरीका आधारमा पवनलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता डीएसपी सागर बोहराले जानकारी दिए ।
सम्झना पवनसँग १३ वर्षको उमेरदेखि उनी प्रेम सम्बन्धमा थिइन् । दुई जनाको सम्बन्ध सार्वजनिक भएपछि उनीहरुले प्रेम विवाह गरेका थिए ।
तर, प्रेम विवाह गरेपछि पवनले सम्झनालाई कुटपिट गर्ने तथा यातना दिने गरेको परिवारको दाबी रहेको छ । सम्झनाको शव परीक्षणका लागि महाकाली प्रादेशिक अस्पतालमा राखिएको छ ।














