जनकपुर । “स्वदेशमै रोजगारी सिर्जना गर्छौं,“ भन्ने कुरा हामी नेपालीहरूले दशकौंदेखि सुन्दै आएका छौं । सरकार परिवर्तन हुन्छ, तर घोषणाहरूमा फेरबदल हुँदैन ।
नीति बनाइन्छ, योजना घोषणा गरिन्छ, भाषणहरूमा युवाको जोश–उत्साहबारे धेरै कुरा गरिन्छ, तर यथार्थमा ती शब्दहरू कहिल्यै व्यवहारमा लागू भएको पाइँदैन । त्यसैले अब यो कुरालाई सुन्दा जनताको कान पाकिसकेको छ ।
हाम्रो देशमा हरेक निर्वाचनको बेला नेताहरूको मुखबाट एउटै कुरा बारम्बार दोहोरिन्छ—“हामी स्वदेशमै रोजगारी सिर्जना गर्छौं,“ अनि “वैदेशिक रोजगारीबाट फर्किएका युवालाई उत्पादनमुखी क्षेत्रमा लगाउँछौं ।
“ तर चुनाव सकिएपछि ती कुराहरू पनि बिर्सिन्छन्, र युवाहरूको भविष्य फेरि पनि अनिश्चिततामै अल्झिन्छ ।
युवा शक्ति, नेताहरूको नारामा मात्र सीमित
नेपालको कुल जनसंख्याको ठूलो हिस्सा युवाहरूको हो । देश विकास गर्न चाहिने प्रमुख शक्ति यही हो, तर दुःखको कुरा के छ भने, यही शक्तिलाई व्यवस्थित रूपमा न योजना बनाइन्छ, न त अवसर दिइन्छ ।
युवाहरू विदेशिने क्रम रोकिएको छैन, बरु झनझन तीव्र भएको छ । उनीहरू रोजगारीको खोजीमा खाडी मुलुक, मलेसिया, कोरिया, जापान, र युरोपसम्म पुगिरहेका छन् । देशभित्र पर्याप्त अवसर नहुँदा, हजारौं युवा श्रम बेचेर परदेशमा पसिना बगाइरहेका छन् । त्यसो त केही युवाहरू स्वदेशमै केही गर्न चाहन्छन्, केही गरिरहेका पनि छन् ।
तर जब उनीहरूले सरकारी संयन्त्रसँग सहकार्य गर्न खोज्छन्, तब उनीहरू भ्रष्टाचार, ढिलो प्रक्रिया, र नेताहरूको ‘आफन्तवाद’ मा अल्झिन्छन् । “रोजगारी” भनेर पाएको जागिर पनि नेताहरूको गुणगान गाउने, पार्टीको झण्डा बोकेर हिँड्ने खालको हुन्छ भने त्यो अवसर होइन, गुलामी हो ।
स्वरोजगार होइन, भरपर्दो संरचना चाहिन्छ
सरकारले अनेकौं स्वरोजगार कार्यक्रम घोषणा गर्छ—युवा परियोजना, सीप विकास तालिम, ऋण अनुदान, स्टार्टअप प्रोत्साहन आदि ।
तर तीमध्ये कति युवाले वास्तविक लाभ उठाएका छन्? योजनाको सूचना पहिला पहुँचवालाले थाहा पाउँछन्, अनि तिनकै हातमा अवसर पुग्छ ।
ग्रामीण भेगका युवाहरू योजना के छ, कहाँ छ, कसरी आवेदन दिने भन्ने कुरा पनि थाहा पाउँदैनन् । अर्कोतर्फ, देशभित्र उद्यम गर्न चाहने युवाहरूले सहुलियतपूर्ण ऋण त परै जाओस्, बैंकले सामान्य सेवा पनि सहज दिँदैन ।
कर, अनुमति, नवीकरणजस्ता प्रक्रियामा जति झन्झट छन्, त्यति नै भ्रष्टाचारको घेरा पनि छ । यस्तो अवस्थामा कसरी “स्वदेशमै रोजगारी सिर्जना“ सम्भव होला?
समाधान के हो?
युवाहरूलाई भाषण होइन, अवसर चाहिएको छ । उनीहरूलाई विदेश जान रोक्ने हो भने यथार्थमै वैकल्पिक बाटो देखाउनु पर्छ । सरकारी नीति र कार्यक्रमहरू कार्यान्वयनमुखी हुनुपर्छ ।
उत्पादनमूलक क्षेत्र—जस्तै कृषि, पर्यटन, लघु उद्योग, सूचना प्रविधि, ऊर्जा आदिमा राज्यले सशक्त लगानी गर्नुपर्छ । सीप, शिक्षा, प्रविधि र पूँजीको समायोजन गरेर व्यापक उद्यमशील वातावरण बनाउनुपर्छ ।
सबैभन्दा महत्वपूर्ण कुरा—नेता र सरकारहरूले युवालाई “कार्यकर्ता“ होइन, “सिर्जनशील शक्ति“ का रूपमा लिनुपर्छ । उनीहरूको स्वतन्त्रता, कल्पनाशक्ति, जोश र उद्यमशीलता माथि विश्वास गर्नुपर्छ ।














