काठमाडौँ, १५ फागुन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ४ किलो सुनसहित चार जना विदेशी नागरिक पक्राउ परेका छन् ।
भन्सारबाट जाँचपास सकेर बाहिर निस्कने क्रममा बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा प्रहरीले उज्वेकिस्तानका तीन महिला र एक पुरुषलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा गुलामदजानोवान उमिदा अख्मेदोभ, सरदार टुर्सुनोभ, अखमदजनोवना डिल्फुजा मारिफालिव र इस्राइलोव्ना साओदत फैजिवा छन् ।
उनीहरूको साथबाट प्रहरीले ३ किलो ७४५ ग्राम सुन बरामद गरेको विमानस्थल प्रहरी प्रमुख एसएसपी सोमेन्द्रसिंह राठौरले जानकारी दियो ।
भन्सार जाँच गरेर बाहिर निस्कने क्रममा शंका लागेर चेकजाँच गर्दा मलद्वारामा लुकाएको अवस्थामा सुन बरामद गरिएको प्रहरीले जानकारी दियो । दुबईबाट फ्लाई दुबईको एफजेएड ५७५ उडानबाट उनीहरु काठमाडौँ आएका थिए ।
उनीहरू भरिया भएको र सुन अर्कैले पठाएको प्रहरीको प्रारम्भिक निष्कर्ष छ ।














