काठमाडौं, १२ फागुन । अध्यादेश अगाडि बढाउने संघीय संसद्को कार्यसूची फेरि धकेलिएको छ ।
सत्तारुढ दलका नेताहरूका अनुसार आन्तरिक छलफल चलिरहेकाले केही दिन संसद्मा अध्यादेश अगाडि बढाउने कार्यसूची नआउने भएको छ । नेताहरूका अनुसार गत माघ २४ गते नै दुवै सदनबाट अध्यादेश स्वीकृत गराउने तयारी थियो ।
तर, राष्ट्रिय सभामा रहेको संसदीय अंकगणितका कारणले अगाडि बढ्न सकेन । त्यसदिन प्रतिनिधिसभाको दैनिक कार्यसूचीमा परेर पनि अध्यादेश सम्बन्धी कार्यक्रम स्थगन गरिएको थियो । राष्ट्रिय सभामा सम्भावित कार्यसूचीमा परेर अगाडि बढ्न सकेको थिएन ।
त्यसपछि सरकारले फागुन ६ गते अध्यादेश संसदबाट स्वीकृत गराउने तयारी गरेको थियो । तयारीका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले फागुन ३ गते सत्तारुढ दलहरूको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा राखेका थिए । उक्त बैठकले फागुन ६ गते संसद्को दुवै सदनमा अध्यादेश निर्णयार्थ पेश गर्ने निर्णय नै गरेको थियो ।