जनकपुर, ११ फागुन । मधेश कृषि विश्वविद्यालयका उपकुलपति र रजिष्ट्रारको नियुक्ति प्रकृयामा त्रुटि र आर्थिक अनियमितता भएको छानबिन समितिले निष्कर्ष निकालेको छ ।
तर, प्रतिवेदन भने हालसम्म गुपचुप राखिएको छ । गत असार १३ मा नीति आयोगका उपाध्यक्ष डा. सोहन साहको नेतृत्वमा तीन सदस्यीय छानबिन समिति बनाइएको थियो । प्रतिवेदनमा भनिएको छ, ‘नियुक्ति प्रक्रिया के–कुन तबरले गर्ने प्रशासनिक र शैक्षिक योग्यता तथा अनुभवको सम्बन्धमा स्पष्ट व्यवस्था नगरी सिफारिशलाई नै आधार बनाएको देखिन्छ ।
उपकुलपतिको नियुक्तिका लागि सिफारिस पेश गर्न कुलपतिबाट सहकुलपतिको अध्यक्षतामा दुईजना सदस्य रहने समिति गठन गरी उक्त समितिको सिफारिसबमोजिम उपकुलपतिको नियुक्ति मधेश कृषि विश्वविद्यालय ऐन, २०७९ को दफा १९ बमोजिम हुने प्रावधान छ ।
रजिष्ट्रार पदमा नियुक्तिसम्बन्धी व्यवस्था सोही ऐनको दफा २० बमोजिम उपकुलपतिको सिफारिसमा सह कुलपतिले रजिष्ट्रारको नियुक्ति गर्ने व्यवस्था छ भने उपकुलपतिको सिफारिस पत्र उपकुलपतिको कार्यालयलगायतको सम्बन्धित निकायमा नदेखिएकोले नियुक्ति नै त्रुटिपूर्ण भएको प्रतिवेदनमा उल्लेख छ ।














