काठमाडौं, ११ फागुन। चितवनको त्रिशूली नदीमा खसेर बेपत्ता भएका रोहित रानाको शव ९ दिनपछि फेला परेको छ ।
उनको शव नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–५ कालीखोला नजिकै फेला परेको इलाका प्रहरी कार्यालय मुग्लिनले जानकारी दिएको छ । नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–५ मा मोटरसाइकल दुर्घटनामा परी त्रिशूलीमा खस्दा २७ वर्षीय राना फागुन २ गतेबाट बेपत्ता थियो ।
त्रिशूलीमा तैरिरहेको अवस्थामा उनको शव आइतवार बिहान फेला परेको हो । इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक (इन्स्पेक्टर) निरला भण्डारीका अनुसार रानाको शव अहिले पोस्टमार्टमका लागि भरतपुर अस्पताल लगिएको छ ।
चितवनको भरतपुर महानगरपालिका–१ रामनगर घर भएका उनी बा ००६–०२ प ९२०४ नम्बरको मोटरसाइकलमा एक्लै काठमाडौंका लागि रामपुरबाट निस्किएका थियो । फागुन २ गते बिहान करिब १२ बजेको समयमा राना सवार मोटरसाइकल सडक छेवैको डिभाइडरमा ठोक्किँदा त्रिशूलीमा खसेका थिए ।
मोटरसाइकल भने सडकमै थियो । भारतीय सेनामा कार्यरत राना छुट्टीमा घर आएका बेला दुर्घटनामा परेका हुन् ।