हेटौँडा, ३ फागुन । पूर्वपश्चिम राजमार्गअन्तर्गत हेटौँडा–११, थानाभ¥याङमा ट्रकले अटोलाई ठक्कर दिँदा महिलाको मृत्यु भएको छ भने उनका बालख छोरासहित २ जना घाइते भएका छन् ।
दुर्घटनामा मकवानपुरको मनहरि गाउँपालिका–६ खयरघारी की ३५ वर्षीया पूजा बम्जनको मृत्यु भएको प्रहरीले जनाएको छ । शुक्रबार राति करिब ८ बजे चितवनतर्फ जाँदै गरेको ना ४ ख. २४९६ नम्बरको ट्रकले विपरीत दिशाबाट आउँदै गरेको ना १ ह. ८३०८ नम्बरको अटोलाई ठक्कर दिएको थियो ।
दुर्घटनामा ३ जना घाइते भएकामा थानाभ¥याङमै रहेको सीएमसी चुरेहिल अस्पतालमा उपचारका क्रममा बम्जनको गएराति मृत्यु भएको छ ।
दुर्घटनामा मृतक बम्जनका ११ वर्षीय छोरा अमृत र अटो चालक हेटौँडा–१९ बासघारीका २५ वर्षीय राजु थिङ घाइते भएका छन् । अटो चालकको अवस्था गम्भीर छ भने अमृतको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
ट्रक चालक चितवन राप्ती नगरपालिका–२ पिप्लेका ४८ वर्षीय कान्छा राईलाई प्रहरीले नियन्त्रणमा लिएको मकवानपुर प्रहरी प्रवक्ता डीएसपी श्यामु अर्यालले जानकारी दिए ।












