काठमाडौँ, १ फागुन । काठमाडौँको शङ्खरापुर नगरपालिका–५ कात्तिकेस्थित सडकमा बुधबार अपराह्न भएको बा २ ख ७९५८ नम्बरको बस दुर्घटनामा घाइते भएका ४३ विद्यार्थीमध्ये २७ जना उपचारपछि आज घर फर्किएका छन् ।
उनीहरू उपचारपछि आज घर फर्किएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिएका छन । उनका अनुसार नगरकोटमा ‘पिकनिक’ खाएर आउने क्रममा सत्यसाई एकेडेमीका विद्यार्थी चढेको बस दुर्घटनामा परेको हो ।
सडकबाट २० फिट तल खसेर भएको उक्त दुर्घटनामा मोरङको उर्लाबारी नगरपालिका–७ घर भएका ११ वर्षीय क्रिस्चल पुरी, सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–७ बस्ने २३ वर्षीय सुरेश तामाङ र काठमाडौँ बौद्ध बस्ने सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका–३ घर भएका १४ वर्षीय शुसाङ्क डोटेलको मृत्यु भएको थियो ।
उनीहरू तीनै जना विद्यार्थी हुन् भने दुर्घटनामा गम्भीर घाइते भएका क्रिस्चलको शिक्षण अस्पताल महाराजगन्जमा, सुरेशको नेपाल मेडिकल कलेजमा र शुसाङ्कको शङ्खरापुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
अहिले दुई घाइतेको केएमसी अस्पतालमा, नौ जनाको एनएमसी अस्पतालमा, एक जनाको मेडिसिटी अस्पतालमा, दुई जनाको शिक्षण अस्पताल महाराजगन्जमा, एक जनाको हेल्पिङ हेन्ड अस्पताल चाबहिलमा र एक जनाको पिपुल्स लाइफ केयर अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता बोहराले जानकारी दिए ।












