काठमाडौं, २७ माघ । जनता समाजवादी पार्टी (नेपाल) का अध्यक्ष उपेन्द्र यादवले आफूहरूले सरकारमा जानका लागि कुनै बार्गेनिङ नगरेको बताएका छन् ।
आइतबार सिंहदरबारस्थित पार्टी संसदीय दलको कार्यालयमा बसेको बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्ने क्रममा अध्यक्ष यादवले यस्तो बताएका हुन् ।
अध्यादेशलाई देखाएर तपाईंहरू सत्ताको बार्गेनिङ गरिरहनुभएको हो ? भन्ने सञ्चारकर्मीको प्रश्नको जवाफमा यादवले भनेका छन्, ‘यस्ता फोहोरी र फटाहा कुरा गर्ने मान्छेको पनि कुरा गर्ने त ? हामी अहिले सरकारमा जाने अवस्थामा छैनौं । हामीलाई मन्त्रालय चाहिएन ।
उनले अध्यादेशबारे पार्टीले धारणा बनाइसकेको र संसद्को कार्यसूचीमा चढ्नेबित्तिकै निर्णय सुनाउने बताए । सरकारले हिउँदे अधिवेशनभन्दा अगाडि ल्याएका ६ वटा अध्यादेश संसद्को कार्यसूचीमा चढ्न सकेको छैन ।
यसअघि अध्यादेश पारित गर्नेगरी दुवै सदनमा प्रस्तुत गर्ने तयारी गरेपनि स्थगित भएको थियो । उपेन्द्र नेतृत्वको जसपा नेपाल राष्ट्रियसभा निर्णायक देखिन्छ । उसले विज्ञहरूसँग अध्यादेशबारे छलफल गरेर धारणा तय भएको बताएको छ ।
यद्यपि संसद्को कार्यसूचीमा नचढेसम्म आफूहरूले निर्णय नलिने अध्यक्ष यादवले बताए । आफूहरूको कारण नभइ सरकार नै बाधक बन्दा अध्यादेश कार्यसूचीमा चढ्न नसकेको उनले बताए ।
‘हाम्रो निर्णयका कारणले अड्किएको होइन । हाम्रो कार्यदलले रिपोर्ट दिनेबित्तिकै निर्णय लिने भन्दा उता कार्यसूचीबाट हटाइयो । हामी बाधक होइन बाधक सरकार नै हो,’ यादवले भने ।
अधिवेशन सुरु भएको पहिलो दिन पेस गर्नुपर्ने र दुवै सदनबाट अध्यादेश स्वीकृत गराएर ६० दिनभित्र प्रतिस्थापन विधेयक ल्याएर ऐनमा रुपान्तरण गरिसक्नुपर्ने संवैधानिक बाध्यता छ । अन्यथा, सबै अध्यादेश निष्क्रिय हुन्छन् ।