काठमाडौं, २६ माघ । खानेपानीमन्त्री प्रदीप यादवले आज बिहान खानेपानी मन्त्रालयमा भएको आगलागीबाट मन्त्रालयका अति आवश्यक एवम् महत्वपूर्ण कागजातमा कुनै क्षति नभएको स्पष्ट पारेका छन् ।
आगलागीको खबर पाएपश्चात तत्काल मन्त्रालय पुगेका मन्त्री यादव, सचिव ई प्रमिलादेवी शाक्य बज्रचार्य, सहसचिव रमाकान्त दुवाडीसहितको टोलीले आगलागीले जलेको कार्यकक्षको निरीक्षण गरेको थियो ।
निरीक्षणपश्चात सञ्चारकर्मीहरूसँगको संक्षिप्त कुराकानीमा मन्त्री यादवले आगलागीबाट मन्त्रालयका अति आवश्यक एवम् महत्वपूर्ण कागजातमा भने कुनै क्षति नभएको बताए । विद्युत् सर्ट भएकै कारण आगलागी भएको हुनसक्ने आशंका गर्दै मन्त्री यादवले भने, ‘घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।
शुक्रबार नै विद्युतको तार पोलिएको गन्ध आएको थियो । मैले कार्यालय सहयोगीलाई यसको जानकारी गराएको थिएँ । पानी तताउने मेसिन होला भनेर विद्युतका सबै प्लगहरू निकाल्न लगाएको थिएँ ।
उनका अनुसार आगलागीबाट करिब ५० लाखसम्मको क्षति भएको हुन सक्ने अनुमान गरिएको छ । नेपाली सेना, नेपाल प्रहरी तथा दमकलको सहायताले ९ बजेर १५ मिनेटमा आगो निभाइएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिए ।