महोत्तरी, २५ माघ । ६ क्विन्टल लागू औषध गाँजासहित एक ट्रक र चालकलाई महोत्तरी प्रहरीले नियन्त्रणमा लिएको छ ।
भंगाहा नगरपालिका–६, मजरा स्थित बर्दिबास–जलेश्वर सडकखण्डमा जलेश्वरतर्फ जाँदै गरेको प्रदेश २–०४–००१ ख ००२१ नम्बरको ट्रकलाई शंकाको आधारमा चेक जाँच गर्दा ठूलो परिमाणमा गाँजा फेला परेको ।
ट्रकको हुडमा कालो प्लास्टिकले बेरिएको ४० वटा रातो प्लास्टिकका पोका फेला परेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका सूचना अधिकारी नन्दकिशोर प्रसाद चौहानले बताए ।
जसमा ६०४ किलो गाँजा रहेको जिल्ला प्रहरी कर्यालय महोत्तरीले जनाएको छ ।
ट्रकका चालक उदयपुरको कटारी नगरपालिका –१ का गणेश बहादुर बिश्वकर्मालाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।